Skip

Hamro Sanchar

कागेश्वरीमा कागे अष्टमी मेलाको भव्य तयारी, ५ सय बढी स्वयंसेवक परिचालन हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २९ गते


Advertisement

काठमाडौं । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा कागेश्वरी मन्दिर परिसरमा आगामी शनिबार (असोज ३ गते) आयोजना हुने मेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न बृहत् छलफल गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मकुन्द गजुरेलको अध्यक्षतामा आइतबार बसेको बैठकमा मेलाको व्यवस्थापन तथा तयारीका विषयमा विस्तृत छलफल भएको हो।

बैठकमा प्रहरी प्रभाग साँखुका प्रमुख, प्रहरी बिट गागलफेदीका प्रमुख, ट्राफिक प्रहरी, नेपाल स्काउट, रेडक्रसका पदाधिकारी, मन्दिर व्यवस्थापन समिति, जनप्रतिनिधि, पत्रकार तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो।

बैठकमा ट्राफिक व्यवस्थापन, भक्तजनको भीड व्यवस्थापन, बजार व्यवस्थापन, स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको छ।

मेलालाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, १५० जनाभन्दा बढी नेपाल स्काउटका युवा तथा अन्य स्वयंसेवक गरी पाँच सय जनाभन्दा बढी जनशक्ति परिचालन गरिने तयारी गरिएको छ।

वडाध्यक्ष गजुरेलले विगतका वर्षमा देखिएका कमीकमजोरीबाट पाठ सिक्दै यस वर्षको मेलालाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मेलालाई जात्राको स्वरूपभन्दा पनि धार्मिक तथा सांस्कृतिक महत्व झल्किने व्यवस्थित मेलाका रूपमा सञ्चालन गर्ने बताए।

कागेश्वरी मनोहरा नगरपालिकाले कागे अष्टमीका अवसरमा सार्वजनिक बिदासमेत दिँदै आएको छ। वडा नम्बर–१ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कागेश्वरी धाममा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन भव्य मेला लाग्ने गर्दछ।

मेलाका अवसरमा नेवार तथा तामाङ समुदायका सांस्कृतिक झाँकी, स्थानीय उत्पादनको प्रदर्शनी, धार्मिक अनुष्ठान, पूजा–आराधना तथा भजन–कीर्तनलगायत कार्यक्रम आयोजना हुनेछन्।

यस्तो छ धार्मिक विश्वास

कागे अष्टमीका दिन कागेश्वरी महादेव मन्दिरमा पूजा–आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने धार्मिक विश्वास छ। ‘स्वस्थानी व्रतकथा’मा उल्लेख भएअनुसार सत्ययुगमा सतीदेवीको अङ्ग पतन भई उत्पन्न भएको शिवलिङ्गका रूपमा कागेश्वरी महादेवलाई श्रद्धालुले पूजाआराधना गर्ने गरेका छन्।

वर्षभरि कागले स्पर्श गरेका मानिसले कागे अष्टमीका दिन कागेश्वरी महादेवको दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेको छ।

त्यसैगरी, कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने विश्वाससमेत रहेको छ। गोसाइँकुण्ड पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल कागेश्वरीमा चढाउनुपर्ने धार्मिक विधि रहेको स्थानीय जनविश्वास छ। गोसाइँकुण्डको यात्रा पूरा गरेपछि कागेश्वरीमा आई जल अर्पण नगरे धार्मिक यात्रा अपूर्ण हुने जनधारणा पनि छ।

मन्दिर परिसरमा रहेको २२७ किलोको अष्टधातुबाट निर्मित कागको मूर्ति मेलाको प्रमुख आकर्षणमध्ये एक हो। उक्त मूर्तिलाई नेपालकै ठूलो कागको मूर्ति भएको बताइन्छ।

कसरी पुग्ने कागेश्वरी धाम ?

कागेश्वरी धाम पुग्न काठमाडौंको जोरपाटी–थली–डाँछी–ब्रह्मखेल–गागल हुँदै कागेश्वरी पुग्न सकिन्छ।

त्यस्तै थली–भद्रवास–आलापोट हुँदै साविक गागलफेदी–कृष्णमन्दिर–अढुवाटी मार्ग तथा सुन्दरीजल–महांकाल हुँदै सिंढी बाटोबाट समेत कागेश्वरी धाम पुग्न सकिन्छ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनलाई आफ्नो सुविधाअनुसारको मार्ग प्रयोग गरी कागे अष्टमी मेलामा सहभागी हुन आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्