Skip

Hamro Sanchar

भोटेकोसी बाढी : १८ विद्यालयमा क्षति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रूत क्षति र मूल्यांकन (आरडीएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।

प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रूपमा क्षति पुगेको छ ।

स्थानीय तहअनुसार, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुई वटा भवनका ११ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मूल्यका हिसाबले यो ३.७५ करोड बराबरको क्षति हो ।

रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीनवटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यो करिब १२.२९ करोड बराबरको क्षति हो ।

नुवाकोटको विदुर नगरपालिकामा रहेका नौ वटा विद्यालय प्रभावित भएका छन् । विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन ३६।६२ करोड बराबर हो ।

धादिङको गल्छी गाउँपालिकाका तीनवटा विद्यालय प्रभावित भएका छन् । जसमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन १०.६१ करोड बराबरको क्षति हो । सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयको दुई वटा भवनका १२ वटा कोठा पूर्ण रुपमा क्षति भएका छन् । जुन ४.१ करोड बराबरको क्षति हो ।

जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चार वटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ । जुन १.४३ करोड बराबरको क्षति हो । प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रुपमा रहेका २४.९३ करोडको क्षति भएको छ । प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि चार अर्ब २३ करोड ३५ लाख खर्च लाग्ने आकलन गरेको छ ।


प्रतिकृया दिनुहोस्