२७ भदौ, काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा विद्यालय शिक्षा सुधारका विषयमा सुझाव संकलनका क्रममा भएको घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रयास भएको बताएका छन्।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पस पुगेर विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको उनले बताएका छन्।
आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारीमा रहेको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता अवधारणाबारे पनि सरोकारवालासँग प्रत्यक्ष छलफल भइरहेको उनको भनाइ छ।
सिरहा र सप्तरीमा १०० भन्दा बढी सरोकारवालाको सहभागितामा अन्तरक्रिया गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले दुई जना व्यक्तिले कार्यक्रमस्थलमा आएर हल्ला गरेपछि अन्य सहभागी प्रभावित हुने अवस्था बनेकाले कार्यक्रमबाट बाहिरिनुपरेको बताएका छन्।
उक्त घटनाको एक मिनेटभन्दा कम समयको भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने प्रयास भएको उनको दाबी छ।
असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन उचित नहुने उनले बताएका छन्।
घटनापछि पनि शिक्षा सुधारसम्बन्धी अभियान नरोकेको बताउँदै पोखरेलले सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको जानकारी दिएका छन्।
एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको उनले बताएका छन्।
‘राजनीतिक स्टन्ट वा हल्ला गर्न नभई ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएको’ उल्लेख गर्दै पोखरेलले हल्लाभन्दा काम ठूलो भएको र आफ्नो काम तथा नियतको मूल्याङ्कन जनताले नै गर्ने बताएका छन्।
अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जुन भिडियोमा शिक्षा मन्त्रीले भाषण गर्दै गर्दा केही व्यक्तिले बिरोध गरेपछि मन्त्री कार्यक्रम नै छोडेर निस्किएको देख्न सकिन्छ ।
सोहि भिडियोलाई लिएर मन्त्री पोख्रेलले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
































