२७ भदौ,काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजले बीएससी–सीएसआईटी र बीसीएमा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
आज सुकेधारास्थित मर्क्योर होटलमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अध्ययन प्रक्रिया, आइटी क्षेत्रमा उपलब्ध अवसर, करिअर निर्माण तथा भविष्यका सम्भावनाबारे जानकारी दिइएको थियो।
कार्यक्रममा आइटी क्षेत्रका विज्ञ तथा उद्योगीहरूले डिग्रीमा मात्र सीमित नभई नयाँ प्रविधि, एआई, सञ्चार सीप र व्यवहारिक ज्ञानमा ध्यान दिन विद्यार्थीलाई सुझाव दिएका थिए।
मेहनत र निरन्तर सिकाइले नेपालमै बसेर अन्तर्राष्ट्रिय अवसर हासिल गर्न सकिने उनीहरूको भनाइ थियो।
कार्यक्रममा सेन्ट लरेन्स कलेजले आइटी क्षेत्रका ७ संस्थासँग सहकार्य सम्झौता समेत गरेको छ।
सेक्योर आइक्यु ल्याब, कोड प्वाइन्ट नेपाल, नेपिट आइटी सोलुसन्स, फ्रन्टबुथ सोलुसन्स, शिवांश आइटी सोलुसन्स, वी टेक एन्ड हस्पिटालिटी तथा कोभोस्यास टेक्नोलोजी लगायतका संस्थासँग सहकार्य सम्झौता गरिएको हो।
सम्झौताबाट विद्यार्थीलाई इन्टर्नसिप, व्यवहारिक ज्ञान तथा रोजगारीका अवसरमा सहयोग पुग्ने कलेजले जनाएको छ।
कलेजका अध्यक्ष केशव प्रसाद दंगालले विद्यार्थीलाई सुरुदेखि नै आफ्नो करिअरको तयारीमा लाग्न आग्रह गर्दै सफल बनाउन कलेज प्रतिबद्ध रहेको बताए।
सेन्ट लरेन्स मन्टेश्वरी देखि मास्टर्स तहसम्म अध्ययन हुने पूर्ण शैक्षिक संस्था रहेको बताइएको थियो ।
































