Skip

Hamro Sanchar

नासा कलेजद्वारा ५० लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा

बाढीपहिरो प्रभावित विद्यार्थीको शिक्षामा अवरोध हुन नदिने प्रतिबद्धता

सुदिप बर्देवा प्रकाशित : २०८३ भदौ, २७ गते


Advertisement

काठमाडौं, भदौ २७- राजधानीको तिनकुनेस्थित नासा कलेजले हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित विद्यार्थीका लागि ५० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति घोषणा गरेको छ। विपद्का कारण विद्यार्थीको शैक्षिक यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले कलेजले उक्त छात्रवृत्ति घोषणा गरेको हो।

बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवार तथा विद्यार्थीलाई शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले कलेजले यस्तो मानवीय पहल गरेको जनाएको छ। यसअघि पनि कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब तीन लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको छ।

कलेजका अनुसार स्टुडेन्ट काउन्सिल, विभिन्न क्लब, शिक्षक तथा कर्मचारीहरूले समेत आ–आफ्नो तर्फबाट विपद् प्रभावितका लागि सहयोग गरिसकेका छन्। ती सबै सहयोगपछि पनि विपद्को समयमा आफ्नो सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले कलेजले ५० लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको हो।

गुणस्तरीय शिक्षाका लागि आफ्नो छुट्टै पहिचान बनाउन सफल नासा कलेजले शैक्षिक गतिविधिसँगै विविध अतिरिक्त क्रियाकलाप, विद्यार्थीको व्यक्तिगत हेरचाह, उत्प्रेरणा तथा मार्गदर्शन, उत्कृष्ट भौतिक पूर्वाधार, करिअर गाइडेन्स र अनुभवी तथा दक्ष शिक्षक टोलीलाई आफ्नो प्रमुख विशेषताका रूपमा अघि बढाउँदै आएको छ।

कलेजका प्रबन्ध निर्देशक दीपक न्यौपानेले विपद्को पीडामा परेका परिवार तथा विद्यार्थीप्रति कलेज परिवारको गहिरो सहानुभूति रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “विनाशकारी र त्रासदीपूर्ण बाढीका कारण हाल देशले भोगिरहेको विकराल अवस्था र त्यसले दिएको असीम पीडाले हामीलाई पनि गहिरो चोट परेको छ। यसबाट भएको धनजनको अकल्पनीय क्षतिले कलेज परिवार मर्माहत भएको छ।”

शोक र पीडाको यस घडीमा विपद्मा परी दिवंगत भएका सम्पूर्णप्रति चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा प्रभावित परिवारको पुनःस्थापनाका लागि प्रार्थना गर्दै कलेज समुदाय उनीहरूको साथमा रहेको उहाँले बताउनुभयो।

प्रबन्ध निर्देशक न्यौपानेले विपद्का कारण कुनै पनि विद्यार्थीको शिक्षा अवरुद्ध हुन नदिन छात्रवृत्ति घोषणा गरिएको स्पष्ट पार्नुभयो। प्रभावित विद्यार्थीको शैक्षिक यात्रालाई निरन्तरता दिन कलेजले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

नासा कलेजको यो पहलले प्राकृतिक विपद्बाट प्रभावित विद्यार्थीलाई राहत मात्र नभई उनीहरूको उच्च शिक्षा निरन्तरता दिने महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ। विपद्को समयमा शिक्षण संस्थाले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा समेत कलेजको यो कदमलाई लिन सकिन्छ।


प्रतिकृया दिनुहोस्