Skip

Hamro Sanchar

मेलुङमा सडक पूर्वाधारको फड्को : सितली सडकमा २० करोड बढी, नयाँपुल–सिम्टेमा १९ करोडको काम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २५ गते


Advertisement

दोलखा । मेलुङ गाउँपालिकामा सडक पूर्वाधार विकासले गति लिन थालेको छ। गाउँपालिकाको निरन्तर प्रयास तथा प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न सडकखण्डमा करोडौँ रुपैयाँ लागतका आयोजना सञ्चालन भैरहेका छन्।

यसैक्रममा मुडे–मेलुङ–सितली सडकअन्तर्गत सितली–मेलुङ–बुद्धचोक खण्ड स्तरोन्नतिका लागि २० करोड ४० लाख १८ हजार ४९१ रुपैयाँ ६७ पैसाको बोलपत्र स्वीकृत भएको छ।

बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, दोलखाले प्रकाशित गरेको सूचनाअनुसार चरिकोट–मेलुङ सडकअन्तर्गत पर्ने उक्त खण्डको चेनिज ०+३८० देखि ८+३२० किलोमिटरसम्म स्तरोन्नति गरिनेछ। आयोजनाका लागि मंगलेदेवी सुवास कन्स्ट्रक्सन प्रालि, नुवाकोटलाई न्यूनतम मूल्यांकन गरिएको उत्तरदायी बोलपत्रदाताका रूपमा छनोट गरिएको छ।

त्यस्तै, प्रदेश सरकारसँगको सहकार्यमा तामाकोशी–पवटी–बुद्धचोक–डाँडाखर्क सडकअन्तर्गत नयाँ पुल–सिम्टे खण्डमा १९ करोड रुपैयाँको लागतमा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले जानकारी दिए।

त्यसैगरी भैँसेदेखि ३.५ किलोमिटर सडकखण्डमा १६ करोड रुपैयाँको लागतमा काम भइरहेको छ। यी आयोजनाले मेलुङ गाउँपालिकाभित्रको सडक सञ्जाललाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ।

अध्यक्ष तामाङले गाउँपालिकाको विकासका लागि निरन्तर पहल र प्रयास भइरहेको बताए। “मेलुङको समग्र विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर निरन्तर प्रयास गरिरहेका छौँ। प्रदेश सरकारसँगको सहकार्यमा ठूला आयोजनाहरू अघि बढिरहेका छन्। यी कामहरू सम्पन्न भएपछि मेलुङको सडक पहुँचमा ठूलो परिवर्तन आउनेछ,” अध्यक्ष तामाङले भने।

सडक पूर्वाधारमा भइरहेको लगानीले स्थानीय नागरिकको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र चलायमान बनाउनसमेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

अध्यक्ष तामाङका अनुसार सडक, पुललगायतका पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै मेलुङलाई थप व्यवस्थित, सहज र समृद्ध गाउँपालिकाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।


प्रतिकृया दिनुहोस्