Skip

Hamro Sanchar

सभापतिमाथि आक्रमण भएको बेला एउटा पक्षले हाम्रो पार्टी कब्जा गर्यो : सिटौला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २४ गते


Advertisement

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन गरेर एउटा पक्षले आफ्नो पार्टी कब्जा गरेको बताएका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘गत भदौको २३ र २४ गते भएको घटना, उक्त दिन हाम्रो सभापतिमाथि भएको आक्रमण र देश जलेको अवस्थाबाट सिर्जना भएको समस्या विशेष महाधिवेशन गरेर एउटा पक्षले हाम्रो पार्टी कब्जा गरेको छ’, सिटौलाले भने ।

‘आज हामी यहाँ छौँ र १५ औँ महाधिवेशन आयोजना गर्ने तयारमा अघि बढिरहेका छौँ’, उनले फेरी थपे, ‘नेपाली काँग्रेस, विशेष गरेर हामीहरूमाथि जसले इतिहासमा लामो संघर्षबाट आएहरुको काँधमा एउटा ठुलो जिम्मेवारी छ पार्टीमा सम्पूर्ण तवरबाट एकता निर्माण गर्ने ।’

उनले गत वर्षको जेनजी आन्दोलनदेखि पार्टीले शृङ्खलाबद्ध प्रहारको सामना गर्नुपरेको समेत बताए । उनले पार्टी र नेतृत्व थोरै निष्क्रिय भएको मौका छोपेर एउटा पक्षले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गरेको आरोप लगाए ।

मुलुकमा लोकतान्त्रिक व्यवस्था निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका सबै राजनीतिक दलहरूको आन्तरिक एकता कमजोर बन्दै गएको सिटौलाको दाबी छ ।

संविधान निर्माणमा महत्त्वपूर्ण योगदान दिएका राजनीतिक दलहरूको आन्तरिक जीवन र संगठनको मूल्याङ्कन गर्दा एकता कमजोर भएको देखिएको उनको भनाइ छ । उनले मुलुकको समृद्धि र मुलुकको स्वाधीनताको रक्षाका लागि दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकता रहेको पनि बताए ।

‘आजको दिनमा सबै राजनीतिक दलहरूको आन्तरिक एकता अत्यन्त कमजोर भएर गएको छ’, सिटौलाले भने, ‘जसले मुलुकमा यो परिवर्तन ल्याए, जसले यो संविधान निर्माणमा महत्त्वपूर्ण योगदान दिए ती सबै राजनीतिक दलहरूको आन्तरिक जीवन र संगठनको मूल्याङ्कन गर्ने हो भने सबै राजनीतिक दलहरूको आन्तरिक एकता अत्यन्त कमजोर भएको छ ।’

सबै राजनीतिक दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकता रहेको उनको बुझाई छ । उनले पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाउने जिम्मेवारी पनि आफूहरूकै काँधमा रहेको बताए ।


प्रतिकृया दिनुहोस्