काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र आन्तरिक राजस्व कार्यालयबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। समझदारीसँगै अब नगरपालिकाबाटै व्यक्तिगत प्यानकार्ड, व्यावसायिक प्यानकार्ड तथा उपभोक्ता समिति प्यानकार्ड प्रदान गर्ने व्यवस्था गरिएको छ।
नगरपालिकामा आयोजित कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की तथा आन्तरिक राजस्व कार्यालयका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपछि प्यानकार्ड लिन सेवाग्राहीले आन्तरिक राजस्व कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। नगरपालिकाबाटै सेवा उपलब्ध भएपछि स्थानीय नागरिक, व्यवसायी तथा उपभोक्ता समितिलाई करसम्बन्धी सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।
नगरप्रमुख उपेन्द्र कार्कीले स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक अधिकांश सार्वजनिक सेवा सहज र सरल रूपमा उपलब्ध गराउने उद्देश्यअनुसार नगरपालिका अघि बढिरहेको बताए।
उनले भने, “नागरिकले सामान्य सेवा लिन पनि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरबाटै सेवा उपलब्ध गराउने हाम्रो प्राथमिकता हो। प्यानकार्डसम्बन्धी सेवा नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्थाले नागरिकको समय र खर्च दुवै बचत हुन्छ।”
नगरप्रमुख कार्कीका अनुसार नगरपालिका प्रविधिमैत्री र सेवाग्राहीमैत्री स्थानीय सरकार निर्माण गर्ने अभियानमा अघि बढिरहेको छ। नागरिकलाई छिटो, सरल, पारदर्शी र प्रभावकारी सेवा दिने गरी विभिन्न सरकारी निकायसँगको समन्वयलाई समेत प्राथमिकता दिइएको उनले बताए।
यसअघि पनि कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्रदान गर्दै आइरहेको छ। भूमि प्रशासनसम्बन्धी कामका लागि सेवाग्राहीले सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने अवस्थालाई कम गर्दै नगरपालिकाबाटै आवश्यक सेवा तथा सहजीकरण उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ।
प्यानकार्ड सेवा पनि नगरपालिकाबाटै सुरु भएपछि कर प्रशासन, व्यवसाय दर्ता तथा अन्य सरकारी प्रक्रियामा नागरिकलाई थप सहजता हुने विश्वास गरिएको छ।
































