२४ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विपद् व्यवस्थापनमा बालेन सरकारको तयारीदेखि उद्धार र राहत वितरणलाइ लिएर प्रश्न उठाएका छन्।
मंगलबार सामाजिक सञ्जालमा आफ्नो बाढी प्रभावित क्षेत्रको स्थलगत अनुभव सार्वजनिक गर्दै साम्पाङले सरकारको तयारी कमजोर हुँदा र उद्धारमा पर्याप्त स्रोतसाधन नहुँदा विपद्मा थप मानवीय क्षति हुन सक्ने अवस्था देखिएको बताएका हुन्।
धुन्चेमा रहेका साम्पाङ स्याफ्रुबेँसीसम्म पुगेका थिए। बाढीले पहाडै भत्काएर बगाएको दृश्य आफूले देखेको उल्लेख गर्दै उनले अवस्थालाई अत्यन्त पीडादायी रूपमा चित्रण गरेका छन्।
सरकारले घोषणा र भाषणमा भनेजति काम व्यवहारमा गर्न सकेको भए धेरै नागरिकको ज्यान जोगाउन सकिने उनको भनाइ छ।
चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना श्रमिक फसेको घटनाप्रति ध्यानाकर्षण गराउँदै साम्पाङले उद्धार टोलीलाई आवश्यक उपकरण उपलब्ध नगराइएको आरोप लगाएका छन्। सुरुङ खोल्न प्रयोग गर्न लगिएको जेनेरेटर नै प्रभावकारी नभएपछि अहिले विद्युत् लाइन जडान गरेर काम भइरहेको उनले बताएका छन्।
उद्धारमा खटिएका सेना र प्रहरीलाई सामान्य गैंती तथा बेल्चासमेत पर्याप्त रूपमा उपलब्ध नगराइएको भन्दै उनले सरकारको तयारीमाथि प्रश्न गरेका छन्।
बाढी आएको १४ दिन बितिसक्दा पनि कतिपय नागरिक जोखिम मोलेर लट्ठाको सहायतामा नदी पार गरिरहेको उनले बताएका छन्। यस्तो अवस्थामा कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई अत्याधुनिक उपकरणसहित परिचालन गर्नुपर्ने उनको माग छ।
साम्पाङका अनुसार राहत सामग्री संकलन गरेर एक ठाउँमा राखिए पनि दुर्गम बस्तीमा वितरण हुन सकेको छैन। कतिपय नागरिकले अझै खाना नपाएको र राहत तथा उद्धारका लागि हेलिकप्टर पनि अपेक्षाअनुसार परिचालन हुन नसकेको उनले बताएका छन्।
उनले राहतका लागि संकलित रकम कहाँ र कसरी खर्च भयो भन्ने विवरण पूर्ण रूपमा पारदर्शी बनाउनुपर्ने माग गरेका छन्। घरबार गुमाएका नागरिकको पुनःस्थापना तथा अस्थायी शिविरमा परिणत भएका विद्यालयलाई पुनः सञ्चालन गर्ने विषयमा सरकारले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ।
रसुवा पुग्नुको उद्देश्य सरकारको आलोचना गर्नु नभई विपद् प्रभावितलाई सहयोग पुर्याउनु रहेको साम्पाङले स्पष्ट पारेका छन्।































