२२ भदौ, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७६७–३०० कार्गो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे मियामीमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो।
विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको सीएनएनले जनाएको छ । रनवेबाट बाहिरिएपछि विमानले कैयौँ सवारीसाधनलाई ठक्कर दिएको थियो । त्यसपछि विमानमा भीषण आगलागी भएको थियो । विमानको अगाडिको भाग धसिने गरी रोकिएको थियो ।
विमानको ठक्करबाट क्षतिग्रस्त सवारी साधनहरूभित्र केही पीडितहरू फसेका थिए, जसलाई उद्धारकर्मीहरूले बाहिर निकालेका थिए।
विमान किन धावनमार्गको अन्तिमसम्म पनि रोकिन सकेन भन्ने कारण अहिलेसम्म खुलेको छैन। उडान ट्र्याकिङ साइट फ्लाइटराडर २४ु का अनुसार धावनमार्गको प्रयोगयोग्य भाग छाड्दा विमानको गति करिब १३० माइल प्रतिघण्टा रहेको थियो । साथै, एयर ट्राफिक कन्ट्रोलको अडियो समीक्षाबाट अवतरणअघि पाइलटहरूले कुनै पनि आपतकालीन अवस्था घोषणा नगरेको देखिएको छ।
उक्त एयरलाइन्स एक कार्गो क्यारियर हो, जसको मियामीमा अपरेसन सेन्टर रहेको छ र यसले बोइङ ७६७ विमानहरू प्रयोग गरेर अमेजन र डीएचएलजस्ता कम्पनीहरूका लागि उडानहरू सञ्चालन गर्दै आएको छ ।
































