Skip

Hamro Sanchar

काठमाडौंमा बसेर स्थानीय तहलाई दोष नदिऔँ, बाढीले उसकै सहर बगाएको छ : रास्वपा सचेतक धिताल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १६ गते


Advertisement

१६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, समन्वय भएन भनेर आरोप लगाउनु किमार्थ उचित नहुने बताएकी छन् ।

आज साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रास्वपा सचेतक धितालले स्थानीय तह आफैँ विपत्‌ पीडित भएको बताएकी छन् ।

रसुवामा बाढी आएलगत्तै स्थानीय तह स्वतःस्फूर्त रूपमा परिचालित नभएको भन्ने भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको अभिव्यक्तिलाई लिएर धितालले असन्तुष्टि जनाएकी हुन् ।

बाढीले स्थानीय तहकै संरचना, जनजीवन र स्रोतसाधन प्रभावित भएको अवस्थामा काठमाडौंमा बसेर स्थानीय तहको सक्रियतामाथि प्रश्न उठाउनु उचित नभएको उनले बताइन् ।

विपत्‌का बेला काठमाडौंमा बसेर ‘स्थानीय तहले के गर्‍यो ?’ भन्दै प्रश्न उठाउन सजिलो भए पनि वास्तविकता त्यति सरल नभएको उनको भनाइ छ

‘अरे, हामीले कस्तो नसम्झेको ! स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो,’ धितालले भनेकी छन्, ‘उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ । जसले आफैँ गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो रु’
विपत्‌का बेला प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याएर प्रश्नको वर्षा गर्नुभन्दा उनीहरूलाई पुनः उभिन सक्ने बनाउनु सबैको जिम्मेवारी भएको धितालको भनाइ छ ।

उनले विपत्‌मा सरकारका विभिन्न तहलाई एकअर्काका प्रतिस्पर्धी नभई सहारा बन्नुपर्नेमा जोड दिएकी छन् ।

‘प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो,’ धितालले भनेकी छन्, ‘विपत्‌मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन् । हामी सहारा बनौँ ।’

 


प्रतिकृया दिनुहोस्