Skip

Hamro Sanchar

अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्दा समस्या निम्त्यायो : कांग्रेस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १६ गते


Advertisement

१६ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए पनि सरकारले मान्दा समस्या देखिएको बताएको छ ।

आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले सुरुङमा थुनिएका प्रविधिज्ञहरूको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेका हुन् ।

‘सुरुङमा धेरै प्रविधिज्ञहरू थुनिनुभएको छ, उहाँहरूलाई कसरी निकाल्ने भन्ने नै अहिलेको मुख्य चुनौती हो,’ चालिसेले भने, ‘यस्तो बेला प्राविधिक सहयोग लिन हिचकिचाउनु हुँदैन। पहिला सरकारले सहयोग नलिने भन्यो, अहिले सात दिनमा लिने भन्यो। यो ढिलाइले कति गाह्रो भयो, त्यो नै मुख्य विषय हो।’

प्रवक्ता चालिसेले नीतिगत त्रुटिका कारण कहिलेकाहीँ विपद् व्यवस्थापनमा अप्ठ्याराहरू आउने उल्लेख गर्दै त्यसबारे विपक्षी दलले सकारात्मक सुझाव दिइरहेको बताए।

‘सास रहुन्जेल आस हुन्छ, त्यसैले सरकारले उद्धारमा सबै शक्ति लगाउनुपर्छ,’ उनले भने। उनले विपद् व्यवस्थापनका तीन चरण हुने उल्लेख गर्दै पहिलो प्राथमिकता उद्धार, दोस्रो राहत र तेस्रो पुनर्निर्माण हुनुपर्नेमा जोड दिए।

केन्द्रमा जस्तै प्रदेश र स्थानीय तहमा पनि सर्वदलीय संयन्त्र बनाउने कुरा भएको जानकारी दिँदै चालिसेले उद्धार र राहतमा तीनै तहका सरकारबिच प्रभावकारी समन्वय हुनुपर्ने बताए।

विपद्को घडीमा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो। ‘पीडित जनताको साथमा राजनीति हुँदैन, हामी सबै एकै स्थानमा हुन्छौँ,’ प्रवक्ता चालिसेले भने, ‘स्वार्थभन्दा माथि उठेर विशुद्ध सेवाको भावनाले काम गर्नुपर्छ भन्ने कुरा सर्वदलीय बैठकमा भएको छ।

उनले विपद्को सामना गर्न सरकार, प्रतिपक्ष र सबै सरोकारवाला निकायहरू एकीकृत ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।


प्रतिकृया दिनुहोस्