काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन ७५ लाख ५५ हजार ५७५ रुपैयाँ उपलब्ध गराउने भएको छ।
बाढीपीडितका लागि जुटाइएको रकममा जनप्रतिनिधिदेखि नगरपालिका र सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीसम्मको योगदान समेटिएको छ। नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूले एक महिनाको सेवासुविधा तथा अन्य जनप्रतिनिधिले सात दिनबराबरको सेवासुविधा सहयोग गर्ने निर्णय भएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो।
त्यसैगरी नगर अस्पतालसहित नगरपालिकाअन्तर्गतका स्थायी, अस्थायी तथा करार कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको २ देखि ७ दिनसम्मको पारिश्रमिक समेत सहयोगमा समावेश गरिएको छ।
संकलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रकम समेत जुटाइएको छ। उक्त ७५ लाख ५५ हजार ५७५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय नगरपालिकाले गरेको छ।
बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त निर्णय गरेको हो।
यस्तै नगरपालिकाले बाढीका कारण ज्यान गुमाएका रसुवा, नुवाकोट र धादिङलगायतका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।
































