Skip

Hamro Sanchar

चीनबाट ५० टन उद्धार सामग्रीसहित दुई विमान काठमाडौंमा, चार सुरुङ उद्धार विशेषज्ञ पनि आए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

काठमाडौं, भदौ १४ — नेपालका लागि चीनको आपत्कालीन राहत सहयोगअन्तर्गत ५० टन सामग्रीसहित चिनियाँ जनमुक्ति सेना (PLA) वायुसेनाका दुई वटा Y–20 ठूला मालवाहक विमान काठमाडौं आइपुगेका छन्।

आइतबार स्थानीय समयअनुसार करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दुवै विमानमा आपत्कालीन राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणसमेत ल्याइएको छ।

चीनबाट प्राप्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन तथा संघीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी भएका थिए। कार्यक्रममा चिनियाँ उद्धार विशेषज्ञलाई समेत स्वागत गरिएको थियो।

चीनको छेन्दुस्थित शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो।

दुवै विमानमा टेन्ट, कम्बल, सुत्ने झोला, हार्डट्याक (सुख्खा खाद्य सामग्री) तथा प्राथमिक उपचारका सामग्रीलगायत १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ। ती सामग्रीको कुल तौल करिब ५० टन रहेको जनाइएको छ।

चीनले नेपाललाई उपलब्ध गराएको यो सहयोगमा विशेषगरी सुरुङ उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसमेत समावेश रहेकाले आपत्कालीन उद्धार कार्यमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्