१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायले प्राकृतिक विपत्ति तथा भोटेकोशी बाढीबाट सिर्जित असहज परिस्थितिका कारण स्नातकोत्तर तहका विभिन्न कार्यक्रमअन्तर्गतका बाँकी परीक्षा स्थगित गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन तथा व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको आज बसेको आकस्मिक बैठकको निर्णयअनुसार MBS, MPA, MBM, MBA-F, MBA-CL, MBA-M, MHM, MTTM र MATS कार्यक्रमको तेस्रो सत्र नियमित परीक्षा–२०८३ अन्तर्गत हुन बाँकी सम्पूर्ण दिन र विषयका परीक्षा स्थगित गरिएको हो।
त्यसैगरी, एमबीएस प्रथम सत्रको २०८३ भदौ १५ गते मधेश प्रदेशका परीक्षा केन्द्रमा सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरिएको त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयले जनाएको छ।
संकायका अनुसार स्थगित परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। देशको परिस्थितिको मूल्याङ्कन गरी उचित समयमा नयाँ परीक्षा तालिका प्रकाशन गरेर परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ।






























