Skip

Hamro Sanchar

विपन्न बालबालिकालाई गाउँपालिकाको आवासीय शिक्षा सुविधा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

९ भदौ, गोरखा । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहिदलखन गाउँपालिकाले आवाससहितको शिक्षाको प्रबन्ध गरेको छ।

पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गर्दै गाउँपालिकाले वडा-६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवाससहित पढ्न पाउने व्यवस्था गरेको हो ।

पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरिएको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताए।

“पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रूपमा विपन्न बालबालिकाहरूलाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएका हौँ, अध्यक्ष थापाले भने।

हाल गाउँपालिकाको हिमालय माविस्थित छात्रावासमा १३ जना बालबालिकाहरू आश्रित छन् । उनीहरूको कक्षा १० सम्मको शिक्षा र पालनपोषण सबैको जिम्मेवारी गाउँपालिकाले बेहोर्ने अध्यक्ष थापाको भनाइ छ ।

पालिकाभित्रका विपन्न बालबालिकाहरूका लागि यसै साताबाट सुरक्षित आवासीय शिक्षा सञ्चालनमा ल्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । विपन्न बालबालिकाका लक्षित आवासीय शिक्षा कार्यक्रममा लागि पालिकाले आर्थिक वर्ष २०८२र०८३ मा १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

त्यो रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राहरूका लागि छात्रावास, शौचालय र मेसको व्यवस्थापन गरेको उनले जानकारी दिए । “छात्रावास व्यवस्थापनको काम गत असारमै सकिएको थियो तर बर्खे बिदा र विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षाका कारण सञ्चालनमा ल्याउन ढिला भयो”, उनले भने ।

गाउँपालिकाले २० जना बालबालिका क्षमताको छात्रावास सञ्चालनमा ल्याएको छ । त्यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने शिक्षा अधिकृत राजेन्द्र खनालले बताए ।

पारिवारिक अवस्थाका कारण अध्ययन गर्न नसकेका र संरक्षकको आवश्यकता भएका बालबालिकाहरूलाई पालिकाले आवेदन माग गरी छनोट गरेको थियो । छनोट भएका बालबालिकाहरू अधिकांशको आमा, बुबा नभएका वा भएकाहरूले दोस्रो विवाह गरेका र पारिवारिक अपहेलनमा परेका रहेको पालिकाले जनाएको छ ।

सहिदलखन गाउँपालिकाले सीमान्तकृत चेपाङ र बराम समुदायका बालबालिकाहरूको लागि सिंजाली माविमा छुट्टै आवासीय सुविधासहित पठनपाठन गर्ने तयारी गरेको छ ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भए लगत्तै आगामी शैक्षिक सत्रबाट उक्त सेवा सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालको भनाइ छ ।


प्रतिकृया दिनुहोस्