Skip

Hamro Sanchar

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुरको रिट सर्वोच्चमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ८ गते


Advertisement

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको विवादमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट निवेदन दिएका छन्।

कांग्रेसले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाले अर्को रिट दिएका हुन्। खड्काको तर्फबाट भने पुरक निवेदन परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समतिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ।

देउवाले अन्तरिम आदेशमार्फत तत्काल त्यसलाई रोक लगाउन माग गरेका छन्। यसअघिको आदेश पुनरावलोकन गर्ने सर्वोच्चबाट निर्णय भइसकेकाले पुरक निवेदन पनि साथै राखि सुनुवाइ गर्नुपर्ने खड्काको माग छ। खड्काले पनि पुरक निवेदनमा महाधिवेशनका सम्पूर्ण कार्यक्रम रोक्न माग गरेका छन्।

पार्टी आधिकारीकताको विवाद सर्वोच्च अदालतमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नु पर्ने दुवैको माग छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा र खड्का सर्वोच्च गएका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो।

त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै दुवैले निवेदन दिएका थिए। निवेदनमा प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मासहितको पूर्ण इजलासले निसा दिएपछि कांग्रेसको आधिकारीकता विवाद पुनः बल्झिएको हो।

यता सर्वोच्च अदालतले यसअघिको आदेश पुनरावलोकनका लागि अनुमति दिए पनि थापा नेतृत्वले भने महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ।


प्रतिकृया दिनुहोस्