काठमाडौं। शंखरापुर नगरपालिको वडा नं ६को –सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक यात्रुवाहक बस सेवा सञ्चालनमा आएको छ।
उक्त बस सेवाको हिजो एक कार्यक्रमबीच नेपाल स्वतन्त्र यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँर लगायतले उद्घाटन गरेका हुन्। पृथ्वी राजमार्ग बस संचालक कम्पनीले नेपालमा भित्र्याएको उक्त बस अशोक लेल्यान्ड कम्पनीको रहेको जनाइएको छ।
३९ सिट क्षमता रहेको बसमा यात्रुको सुविधालाई ध्यानमा राख्दै आरामदायी स्लिपर सिट, शौचालय, एसी तथा वाइफाइको सुविधा उपलब्ध रहेको छ।
२०५५ सालमा स्थापना भएको शुभ अधिकारी ट्राभल्सले करिब ७ करोड रुपैयाँको लगानीमा ६ वटा अत्याधुनिक बस सञ्चालनमा ल्याएको सञ्चालक टीकाराम अधिकारीले जानकारी दिए।
उक्त बसमा काठमाडौं–पोखरा यात्राका लागि प्रतिव्यक्ति १ हजार ७ सय रुपैयाँ भाडा तोकिएको छ।
सञ्चालक अधिकारीले नेपालमा यातायात क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन स्पष्ट तथा प्रभावकारी यातायात ऐन आवश्यक रहेको बताए।





























