५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको विवाद र असन्तुष्टि अन्त्य गर्दै सबै नेता–कार्यकर्तालाई संवादका माध्यमबाट एकताबद्ध हुन अपिल गरेका छन् ।
पौडेलले पार्टीभित्रका मतभेदलाई सडक वा अदालतमा लैजानुभन्दा कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेर राजनीतिक संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन् ।
शुक्रबार जारी गरेको हार्दिक अपिलमा पौडेलले पछिल्लो राजनीतिक परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेस आफैँ सजग र सुदृढ हुन नसके मुलुक ठूलो राजनीतिक विग्रहको भूमरीमा फस्न सक्ने चेतावनी दिएका छन् ।
‘यस्तो संगीन समयमा नेपाली कांग्रेस आफैँ सजग र सुदृढ नहुने हो भने मुलुक ठूलो राजनीतिक विग्रहको भूमरीमा फस्ने जोखिम देखिन्छ,’ पौडेलले भनेका छन् ।
उनले कांग्रेसका अग्रजहरूले सत्ता प्राप्तिलाई आफ्नो मुख्य ध्येय नबनाएको स्मरण गर्दै पार्टी स्थापनाका आधारभूत मूल्य–मान्यता नै संकटमा परेको बताएका छन् ।
‘सत्ता प्राप्ति हाम्रा अग्रजहरूको मुख्य ध्येय कहिल्यै थिएन, उहाँहरूको बलिदान व्यक्तिगत सुखका लागि पनि थिएन । जुन उद्देश्य र आदर्शका लागि यो पार्टी स्थापना भएको थियो, आज ती आधारभूत मूल्य–मान्यता नै संकटमा परेका छन्,’ अपिलमा भनिएको छ ।
पौडेलले पार्टीभित्रको असन्तुष्टि र विमतिलाई बाहिर लैजाँदा लोकतन्त्र र देश दुवै कमजोर हुने बताएका छन् । समयमै कमजोरी नसच्याए इतिहासले कांग्रेसलाई क्षमा नगर्ने उनको चेतावनी छ ।
‘यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो । समयमै गल्ती सच्याएनौं भने इतिहासले हामीलाई क्षमा दिने छैन,’ उनले भनेका छन् ।
महामन्त्री पौडेलले कांग्रेसभित्रको विवाद अदालतबाट नभई राजनीतिक संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
‘मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ,’ पौडेलको भनाइ छ ।
उनले असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आफ्ना फरक विचारसहित पार्टी कार्यालय सानेपा आउन आग्रह गरेका छन् ।
‘आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस् । यो तपाईं–हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो,’ पौडेलले अपिलमा भनेका छन् ।
पार्टीभित्र विगतमा भएका कमजोरीको सामूहिक समीक्षा गर्दै आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । महाधिवेशनबाट कार्यकर्ताले प्रदान गर्ने नेतृत्वलाई स्वीकार गर्दै कांग्रेसलाई लोकतन्त्र सुदृढीकरणको अभियानमा अघि बढाउनुपर्ने उनको धारणा छ ।
पौडेलले वर्तमान सरकारका गतिविधिमाथि समेत कांग्रेसले प्रभावकारी खबरदारी गर्नुपर्ने बताएका छन् । सरकारलाई खबरदारी गर्न नसके मुलुक अनिश्चितताको दिशामा जान सक्ने उनको चेतावनी छ । ‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन । अहिलेको सरकारलाई खबरदारी पुगेन भने यसले देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजानेछ,’ उनले भनेका छन् ।
कांग्रेसलाई थप सशक्त बनाउन सबै मतभेद थाती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुनुपर्ने भन्दै पौडेलले नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई विनाशर्त सानेपा आउन आग्रह गरेका छन् ।
‘सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको सुन्दर भविष्यका लागि सँगै हिँड्न बिनासर्त सानेपा आउन म हार्दिक अपिल गर्दछु,’ पौडेलले भनेका छन् ।





























