३ भदौ, काठमाडौँ । बालेन सरकारले शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेको हो ।
सरकारले संघीय शिक्षण कोटामा कार्यरत शिक्षकको साविक तलब अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् ।
योसँगै शिक्षण सहयोग अनुदान कोटामा माध्यामिक तहका शिक्षकको मासिक तलब ४३ हजार ६ सय ६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आधारभूत तहका शिक्षकको तलब ३४ हजार ७ सय ३० रुपैयाँबाट बढेर ३८ हजार २ सय ३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार ९इसिडी० सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दूरदराजका विद्यालयहरुमा अहोरात्र खट्ने विद्यालय कर्मचारी तथा इसिडी सहजकर्ताले लामो समयदेखि भोग्दै आएको समस्या समाधानको पहिलो चरण भएको उल्लेख गरेका छन् ।
सरकार उनीहरुको रोजगारी सुरक्षा र पेशागत वृद्धि तथा समग्र वृत्तिविकासमा प्रतिवद्ध रहेको र विद्यालय शिक्षाको क्षेत्रमा लामो समयदेखि थाती रहेका समस्याहरुलाई संवादमार्फत दिगो समाधान गर्न लागि रहेको उनको भनाई छ ।
मन्त्री पोखरेलले सीमित स्रोतका बाबजुद आवश्यक बजेट व्यवस्थापनमा सहजीकरण गरेकोमा अर्थमन्त्रीप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।





























