काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ ।
पार्टी केन्द्रीय समितिले यसअघि तय गरेको केन्द्रीय महाधिवेशनको मिति यथावत राख्दै तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरेर केन्द्रीय निर्वाचन समितिले आज नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।
नयाँ कार्यतालिकाअनुसार गाउँ तथा नगरका वडा अधिवेशन भदौ २४ गते हुने छन् । गाउँ तथा नगर अधिवेशन भदौ २७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते गर्ने तय गरिएको छ ।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते, जिल्ला अधिवेशन असोज ७ गते तथा प्रदेश अधिवेशन असोज १० गते सम्पन्न गर्ने निर्वाचन समितिको कार्यतालिकामा उल्लेख छ ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म आयोजना हुनेछ । केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नगरी तल्ला तहका अधिवेशनको तालिका मात्रै केही हेरफेर गरेर निर्वाचन समितिले नयाँ कार्यतालिका जारी गरेको हो ।
नयाँ कार्यतालिकाअनुसार पार्टीका वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न भएपछि असोज १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ ।































