३० साउन, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थामा सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नु नपर्ने बताएका हुन्
उनले सर्वोच्च अदालतले गरेको फैसला सबैले स्वीकार्नुपर्ने र अदालतले पार्टीको केन्द्रीय समितिलाई बदर नगरेको तथा सभापति गगन थापा नै रहेको कुरा स्पष्ट पारेको स्मरण गर्न संस्थापन इतर समूहलाई सुझाव दिए।
पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै उपसभापति शर्माले पार्टीमा विधिको सर्वोच्चता रहने प्रस्ट पारे । उनले खेलमा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाएजस्तै, राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अधिकार केवल निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुने तर्क गरे ।































