Skip

Hamro Sanchar

स्वास्थ्य बीमामा ठुलो फेरबदल : १८७ औसधि घटाइयो, नागरिकमा कस्तो पर्ला असर ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

२७ साउन, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची सरकारले परिमार्जन गरेको छ।

स्वास्थ्य बीमा बोर्डले नयाँ ‘सुविधा थैली’ लागू गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या १८७ प्रकारले घटाएको हो।

नयाँ सूचीअनुसार अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन्। यसअघि बीमितले १ हजार २८९ प्रकारका औषधि पाउँदै आएका थिए।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउन, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधि छुट्याउन तथा नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिस भएका औषधिलाई सूचीबाट हटाइएको हो।

विशेषगरी सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि स्वास्थ्य बीमा सूचीमा समेत समावेश थिए। एउटै औषधिका लागि सरकारबाट निःशुल्क सेवा र बीमाबाट भुक्तानी हुने दोहोरो व्यवस्था हटाइएको बोर्डको भनाइ छ।

‘आधारभूत स्वास्थ्य सेवाबाट सरकारले निःशुल्क दिने केही औषधि पनि बीमा सूचीमा थिए। त्यसलाई बीमाबाट पनि निरन्तरता दिँदा दोहोरोपन हुने भएकाले हटाइएको हो,’ मल्लले भने।

बोर्डले नयाँ सुविधा थैली असार ३० गतेको बैठकबाट स्वीकृत गरेको थियो। नयाँ व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आइसकेको छ।

औषधिको संख्या घटाइए पनि बीमित नागरिकले पाउने उपचार सुविधामा ठूलो असर नपर्ने बोर्डले दाबी गरेको छ।

बोर्डका अनुसार सूचीबाट हटाइएका औषधिमध्ये कतिपय प्रयोगमा नरहेका छन् भने कतिपय एउटै प्रकृतिमा काम गर्ने औषधिको दोहोरोपनका कारण हटाइएको हो। आवश्यक अवस्थामा वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने भएकाले सेवाग्राहीलाई प्रत्यक्ष असर नपर्ने बोर्डको भनाइ छ।

यससँगै स्वास्थ्य बीमा कार्यक्रममा औषधिको सूची घटाइएपछि बीमितले पाउने सेवामा कस्तो प्रभाव पर्छ भन्ने विषय भने आगामी दिनमा व्यवहारिक रूपमा देखिनेछ।


प्रतिकृया दिनुहोस्