काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि सम्पत्ति कर, व्यवसाय कर, घर/जग्गा बहाल कर तथा जरिवानामा छुटसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीद्वारा जारी गरिएको सूचनाअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को कर चालु आर्थिक वर्षकै पुस मसान्तभित्र दाखिला गर्ने करदाताले सम्पत्ति कर, व्यवसाय कर तथा घर/जग्गा बहाल करमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ भन्दा अघिदेखि दाखिला हुन बाँकी रहेका बहाल कर, सम्पत्ति कर र व्यवसाय कर २०८३ पुस मसान्तभित्र नियमानुसार बुझाएमा त्यसमा लाग्ने जरिवाना छुट दिइने जनाइएको छ।
नगरपालिकाका अनुसार अपाङ्गता परिचयपत्र भएका व्यक्ति तथा एकल महिलाले व्यवसाय दर्ता गर्दा अनुसूची–४ मा उल्लेखित दस्तुरमा २५ प्रतिशत छुट पाउनेछन्। यस्तै, एक लाख रुपैयाँभन्दा कम पुँजी भएका व्यवसायको दर्ता तथा नवीकरणमा लाग्ने बहाल करमा ५० प्रतिशत छुट प्रदान गरिनेछ।
नगरपालिकाले पुस मसान्तपछि मालपोत, व्यवसाय तथा अन्य सबै बक्यौता रकममा प्रचलित दरअनुसार १० प्रतिशत जरिवाना लाग्ने भएकाले छुटको सुविधा लिन समयमै कर बुझाउन सम्पूर्ण करदातालाई आग्रह गरेको छ।






























