
काठमाडौं, साउन १२- प्रधानमन्त्री बालेन शाहले मध्यराति सामाजिक सन्जालमा एक सन्देश लेख्दै सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यस देशको एक नागरिकका रूपमा पनि सुनसरीमा विकसित घटनाक्रमबाट अत्यन्त दुःखी भएको बताएका छन्। उनले घटनाका कारण समाजमा उत्पन्न भएको भय, अविश्वास र असहज अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मानवताले यस्तो अवस्था कहिल्यै नचाहने उल्लेख गरे।
प्रधानमन्त्रीले सरकारले मृतकका परिवारलाई न्यायको अनुभूति गराउन तथा घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने स्पष्ट पारे। साथै घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने विश्वास दिलाए।
उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि हिसाबले सामान्य वा स्वीकार्य विषय नभएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान सुरु भइसकेको र सत्यतथ्यका आधारमा जिम्मेवारमाथि कानुनी कारबाही गरिने जानकारी दिए।
प्रधानमन्त्रीका अनुसार सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको छ र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू तत्काल अघि बढाइनेछ। उनले सुरुदेखि नै सरकारले आफ्नो उपस्थिति जनाएको भए पनि त्यसलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गरिएको बताए।
पीडित परिवार, घाइते तथा प्रभावित सबैलाई न्याय दिलाउन सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कानुनी प्रक्रिया छिटो टुंग्याएर परिणाममुखी काम गर्ने विश्वास व्यक्त गरे।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले नागरिकलाई संयम अपनाउन, उत्तेजना, आक्रोश वा बदलाको भावनामा नबहकिन आग्रह गरे। उनले धर्मले पनि मानव जीवनको रक्षा गर्न सिकाउने उल्लेख गर्दै सबैभन्दा ठूलो धर्म मानिसको जीवन जोगाउनु भएको बताए।
प्रधानमन्त्रीले सरकारको पहिलो दायित्व आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति दिलाउनु भएको दोहोर्याउँदै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरे।
उनले अन्त्यमा नागरिकहरूलाई कुनै पनि प्रकारको उत्तेजना फैलाउने वा त्यसमा संलग्न नहुन, शान्त, सुरक्षित र संयमित रहन तथा एकअर्काप्रति प्रेम, सम्मान र सद्भाव कायम राख्न आग्रह गरेका छन्।






























