Skip

Hamro Sanchar

२४ घण्टामा ६२ विपद्का घटना, २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ४ गते


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुवान सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुईजनाको मृत्यु र १५ जना घाइते भएका छन् । “सर्पदंशका कारण दुईजनाको मृत्यु भएको हो भने ११ जाना घाइते भएका छन् । उक्त घटनाबाट नौ जिल्ला प्रभावित छ । पहिरोबाट दुई घाइते र ११ जिल्ला प्रभावित छन्”, उनले भनिन् ।

प्राधिकरण्का अनुसार पछिल्ला २४ घण्टाको अवधिमा ११ वटा सडक अवरुद्ध भएका छन् । प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार विपद्का कारण करिब १२ लाख २७ हजार बराबरको अनुमानित आर्थिक क्षति भएको छ । घटनामा छ वटा चौपाया पनि क्षति भएको छ ।

पछिल्लो २४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण तथा तीन वटा बाढीका घटना भएको प्राधिरकणको तथ्यांकमा उल्लेख छ । ती घटनाबाट ४७ जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका २६७ जाना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ ।

शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यम, भारी र अति भारी वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्का घटना बढ्न सक्ने भन्दै प्राधिकरणले प्रतिकार्यका लागि व्यापक तयारी गरेको थियो ।


प्रतिकृया दिनुहोस्