Skip

Hamro Sanchar

मोदी खोलामा एक्कासि बाढी : घर र रेस्टुरेन्ट बगायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २९ गते


२९ असार, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासि बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ ।

बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ ।

यसैगरी स्थानीय जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुलसमेत बगाएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ ।

गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताए ।


प्रतिकृया दिनुहोस्