Skip

Hamro Sanchar

सेवा प्रवाह सुधार्न कागेश्वरी मनोहराका जनप्रतिनिधि र कर्मचारीलाई कानुनी अभिमुखीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १६ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले जनप्रतिनिधि तथा कर्मचारीका लागि कानुनी तथा नीतिगत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिका भवनमा आयोजित एकदिने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले स्थानीय तहको कार्यसम्पादनका क्रममा कानुनी, नीतिगत तथा प्रक्रियागत जटिलताका कारण निर्णय प्रक्रियामा अन्योल सिर्जना हुने गरेको बताए। यस्ता समस्या समयमै समाधान गर्न सकिए सेवा प्रवाह मात्र होइन, संस्थाको विश्वसनीयता र कार्यसम्पादन पनि थप प्रभावकारी बन्ने उनको भनाइ थियो।

उनले कर्मचारी र जनप्रतिनिधिबीच समन्वय, कानुनी स्पष्टता तथा साझा बुझाइ विकास गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै जटिल विषयमा समयमै परामर्श र छलफल गर्न सक्ने क्षमता विकास गर्नु नै यस्ता कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

आर्थिक वर्षको अन्तिम चरणमा कार्यालयहरूमा कार्यबोझ र सेवाग्राहीको चाप बढ्ने भएकाले यस अवधिमा सेवा प्रवाहलाई सहज, छिटो र गुणस्तरीय बनाउन सबै कर्मचारी जिम्मेवार र संवेदनशील भएर काम गर्नुपर्नेमा सुवेदीले जोड दिए। कानुनी परामर्शको आवश्यकता पनि यही समयमा बढी हुने भएकाले व्यस्त कार्यतालिकाका बीच अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे।

कार्यक्रममा वरिष्ठ कानुनी विज्ञ काशिराज दाहालले स्थानीय तहको कार्यसम्पादनमा देखिने कानुनी, नीतिगत तथा प्रक्रियागत विषयमा प्रशिक्षण दिएका थिए। उनले कानुनी स्पष्टता, निर्णय प्रक्रियामा अपनाउनुपर्ने सावधानी र सुशासन प्रवर्द्धनका उपायबारे सहभागीलाई जानकारी गराएका थिए।

अन्तरक्रियात्मक सत्रमा जनप्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरूले दैनिक कार्यसम्पादनका क्रममा देखिएका कानुनी अस्पष्टता, नीतिगत अन्योल र व्यावहारिक समस्याबारे प्रश्न राख्दै समाधानका उपायबारे छलफल गरेका थिए।

नगरपालिकाले यस्ता क्षमता विकासमूलक कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीको कार्यदक्षता अभिवृद्धि हुनुका साथै स्थानीय सरकारप्रतिको नागरिकको विश्वास बढाउन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।


प्रतिकृया दिनुहोस्