
८ असार, काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २१ खर्बमाथिको वैदेशिक व्यापार गरेको छ ।
१ साउन २०८२ देखि जेठ मसान्त २०८३ सम्म नेपालले विभिन्न मुलुकसँग गरेको कुल २१ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँबराबरको व्यापारमा १६ खर्ब १६ अर्ब रुपैयाँ घाटा लागेको छ ।
भन्सार विभागले सोमबार चालु आर्थिक वर्षको ११ महिनाको व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । जसमा १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँबराबरको वस्तु तथा सेवाको आयात गर्दैगर्दा नेपालले यसै अवधिमा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँबराबरको निर्यात गरेको विभागले जनाएको छ ।
तथापि, यो निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२।२८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१र८२ को जेठ मसान्तसम्म नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँबराबरको मालवस्तु आयात गर्दै २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँबराबरको निर्यात गरेको थियो । समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापारघाटा थप १५.६७ प्रतिशतले बढेको छ ।
कुल व्यापारमा आयात र निर्यातको अनुपात ६.८१ प्रतिशत छ भने आयात र निर्यातको हिस्सा क्रमशः ८७.२० प्रतिशत र १२.८० प्रतिशत छ । अर्थात् आयात र निर्यातलाई तुलना गर्दा एक सय रुपैयाँबराबरको वस्तुमा नेपालले ८७.२० रुपैयाँको आयात गर्दैगर्दा निर्यात भने जम्मा १२.८० रुपैयाँबराबरको मात्र गर्न सकेको छ ।




























