Skip

Hamro Sanchar

ई-पासपोर्ट प्रकरण : अख्तियारले आरजु राणालाई बयानमा बोलायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ४ गते


४ असार, काठमाडौं । ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई बयानमा उपस्थित हुन म्याद पठाएको छ ।

अख्तियार स्रोतले डा.राणालाई अनुसन्धानका लागि म्याद तामेल भएको पुष्टि गरेको छ ।

अख्तियार राणाको बूढानीलकण्ठस्थित खण्डहर घरमा पुगेर म्याद टाँसेर फर्किएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री डा।राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो । वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो । म्याद तामेली प्रक्रियामा देउवा परिवारका कुनै सदस्य भने सामेल नभएको जनाइएको छ ।

अख्तियारले पासपोर्ट छपाइ खरिद प्रक्रियामा राणाको संलग्नताको आशंकासहित बयानका लागि म्याद तामेल गरेको हो ।

अख्तियारमा पासपोर्ट छपाइको ठेक्कापट्टा प्रक्रियामा डा। राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको छ । अहिले उजुरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

अख्तियारले पासपोर्ट छपाइ अनियमितता सम्बन्धी उजुरीमा छानबिनका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि विशेष अदालतबाट थुना अनुमति लिएको छ ।


प्रतिकृया दिनुहोस्