
२८ जेठ, काठमाडौं । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार सम्हालेको पहिलो दिनमै ३ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रालय शून्यबाट सुरु भइरहेको र अन्य मन्त्रालयहरू जस्तो तयारी अवस्थामा नरहेको स्पष्ट पारेका छन्।
यस चुनौतीपूर्ण अवस्थामा मन्त्री पुनले मन्त्रालयलाई सुचारु र प्रभावकारी बनाउनका लागि दूरगामी महत्वका कदमहरू चालेका हुन्।
उनले मन्त्रालयको आधारभूत कानुनी संरचना निर्माणका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरेका छन् ।
साथै मन्त्रालयलाई सुचारु रूपमा सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारी संख्या, दरबन्दी र कार्यप्रणालीलाई छिटो तथा प्रभावकारी बनाउनका लागि संगठन तथा व्यवस्थापन ( O and m) सर्भेक्षण गर्ने निर्णय गरेका छन् ।
मन्त्री पुनले विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय पनि गरेका छन् ।
यो निर्णयले राष्ट्रिय नवप्रवर्तन प्रणालीलाई सुदृढ पार्न र दोहोरोपन हटाएर स्रोतको अधिकतम उपयोग गर्न सहयोग पुर्याउनेछ। मन्त्री पुनले लामो समयदेखि नेपालमा नवप्रवर्तन र प्रविधिको विकासका लागि वकालत गर्दै आएका छन् ।































