
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले ११ जना नगर प्रहरी कर्मचारीको पदोन्नति गरेको छ। नगरसभाको हिउँदे अधिवेशनबाट नगर प्रहरीको पदोन्नति सम्बन्धी प्रस्ताव पारित भएपछि पदोन्नति प्रक्रिया कार्यान्वयन गरिएको हो।
सुविन कार्की नगर प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा पदोन्नति भएका छन्। यस्तै लक्ष्मण रोका, हरिहर सिम्खडा, साकार ढकाल, मनिस पुडासैनी तथा अनुस तामाङ नगर प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन्।
त्यसैगरी गायत्री पुडासैनी, राजु थापा, प्रमोद थापा मगर, राजाराम फुयाल र पुष्कर चापागाईं नगर प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएका छन्।
नगर प्रहरीलाई एक कार्यक्रमकाबीच प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले वरिष्ठ सई कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। अन्य पदमा पदोन्नति भएका कर्मचारीलाई वरिष्ठ सई कार्कीले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
पदोन्नति तथा दर्ज्यानी चिन्ह वितरण कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नम्बर ४ का अध्यक्ष विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले पदोन्नति प्राप्त कर्मचारीलाई बधाई दिँदै जिम्मेवारीसँगै उत्तरदायित्व पनि बढेको उल्लेख गरे। उनले नगर क्षेत्रको शान्ति, सुरक्षा, सरसफाइ तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा नगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको भन्दै नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरे।
यस्तै नगरप्रमुख कार्कीले नगर प्रहरी संगठनको क्षमता सुदृढीकरण, कार्यसम्पादनमा प्रभावकारिता र कर्मचारीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले पदोन्नति प्रक्रिया अघि बढाएको जानकारी गराए। साथै नगरपालिकाले कर्मचारीको क्षमता अभिवृद्धि र वृत्ति विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उपप्रमुख थापाले नगर प्रहरी स्थानीय सरकारको प्रत्यक्ष अनुहार भएकाले जनतासँगको व्यवहारलाई थप मर्यादित, सेवामुखी र संवेदनशील बनाउनुपर्ने बताइन्। उनले पदोन्नतिले कर्मचारीको मनोबल बढाउने उल्लेख गर्दै आगामी दिनमा अझ समर्पित भएर काम गर्न शुभकामना दिइन्।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले पदोन्नति केवल सुविधा र सम्मानको विषय नभई थप जिम्मेवारीको अवसर भएको बताए। उनले कानुनी दायराभित्र रही अनुशासित, पारदर्शी र नतिजामुखी कार्यसम्पादन गर्न नगर प्रहरी कर्मचारीलाई आग्रह गरे।

































