
१९ जेठ, काठमाडौं । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित तीन जनालाई प्रक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका–३ याङ्गजाकोटका ५६ वर्षीय आसपुरे कामीलाई पक्राउ गरिएको छ ।
मृतक सार्कीसहित चारै जना हाडीकोटमा मजदुरी गर्दै आएका थिए । सोमबार बिहान छोरेडाँडाखानी गाउँमा मदिरा सेवा गरेर गर्ने स्थलतर्फ जाँदै गर्दा सामान्य विवाद हुँदा सार्कीलाई तीन जनाले ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।
जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।






























