Skip

Hamro Sanchar

नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा पुग्न सकेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


१७ जेठ, काठमाडौं । चीनसँग डीएलएस पद्धतिका आधारमा पाँच विकेटले पराजित भएपछि नेपाल एसियन गेम्समा छनोट हुन असफल भएको छ ।

आइतबार मलेसियाको बायोमास ओभलमा एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका निम्ति भएको खेलमा पाएको ४३ रनको नयाँ लक्ष्य चीनले अन्तिम बलमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । वर्षाका कारण खेललाई सात ओभरमा झारिएको थियो ।

चीनकी कप्तान मिनग्यु झुले १८ र चाई युझीले अविजित ११ रन बनाए ।

नेपालका रिया शर्माले दुई र सीता रानामगरले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित सात ओभरमा पाँच विकेट गुमाउँदै ५० रन बनाएको थियो ।

नेपालकी कविता कुँवरले अविजित २२ रनको योगदान गरिन् । कप्तान इन्दु वर्माले ११ रन बनाइन् । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चीनका मा रुइकेले दुई, मिनग्यु झु र झाओ यिहानले समान एक विकेट लिए


प्रतिकृया दिनुहोस्