
काठमाडौं, जेष्ठ १३- सामाजिक तथा मानवीय सेवामा विश्वकै सबैभन्दा ठूलो संस्था मानिने लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाधिवेशन यही जेठ १६ गते काठमाडौंस्थित भृकुटीमण्डपको नेपाल पुलिस क्लबमा आयोजना हुने भएको छ। कार्यक्रममा प्रतिनिधिसभाका सम्माननीय सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
महाधिवेशनमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सभामुख डिपी अर्यालसहित २० जना लायन्स सदस्य सांसदहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा हाल झन्डै ४७ हजार सक्रिय सदस्य, २ हजार ४ सय क्लब तथा १५ वटा डिस्ट्रिक्ट रहेका छन्।
नेपालमा लायन्स स्थापना भएको ५५ वर्षको इतिहासमा पहिलो पटक यस वर्ष महिला अध्यक्ष (काउन्सिल चेयरपर्सन) निर्वाचित भएकी पोखराकी लायन मिलन थापाले नेपाल लायन्सको नेतृत्व गरिरहनुभएको छ। उहाँको कार्यकाल आगामी जुन ३० मा सकिने तथा जुलाई १ देखि नयाँ लायन्स वर्ष सुरु हुने भएकाले नयाँ नेतृत्व चयनका लागि जेठ १४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने कार्यक्रम तय गरिएको छ।
लायन्स मल्टिपलको विधानअनुसार काउन्सिल परिषद्का अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव पदका लागि निर्वाचन हुनेछ भने अन्य केही पदहरू मनोनयनमार्फत पूर्ति गरिनेछन्।
लायन्स अन्तर्राष्ट्रियले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा दुर्गम बस्तीहरूसम्म पुगेर मानवीय सेवा प्रदान गर्दै आएको छ। संस्थामार्फत देशभर सयौं स्थायी परियोजनाहरू सञ्चालनमा छन्।
भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपद्का समयमा हजारौं लायन्स सदस्यहरूले उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। अन्धोपन निवारण तथा दादुरा–रुबेला खोप अभियानमा लायन्स अन्तर्राष्ट्रियले नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ। साथै आँखा अस्पताल, मुटुरोग उपचार केन्द्र तथा विद्यालय भवन निर्माणमा समेत संस्थाले महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपालका विभिन्न लायन्स क्लबहरूले स्थानीयस्तरमै आर्थिक स्रोत परिचालन गरी सामाजिक तथा मानवीय सेवाका साना–ठूला कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
सन् १९१७ मा अमेरिकाको सिकागोमा स्थापना भएको लायन्स अन्तर्राष्ट्रिय नेपालमा भने सन् १९७१ मा स्वर्गीय पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाको नेतृत्वमा लायन्स क्लब विराटनगरमार्फत सुरु भएको थियो।
यस वर्ष लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय महाधिवेशन जुलाई ३ देखि ७ तारिखसम्म हङकङमा आयोजना हुँदैछ। साथै आगामी डिसेम्बर १६ देखि १९ सम्म विभिन्न १४ देशका करिब ३ हजार प्रतिनिधि सहभागी हुने क्षेत्रीय सम्मेलन “ISAME Forum” काठमाडौंमा आयोजना हुने कार्यक्रम रहेको छ।




























