Skip

Hamro Sanchar

पोखराको खोलाघरमा बनेका संरचनामाथि आज डोजर चल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १० गते


१० जेठ, काठमाडौं । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ ।

यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ ।

महानगरले गत ३ वैशाखमा सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्वसूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए ।

‘महानगरले यसअघि २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचना हटाउनेछ’, महानगर प्रमुख आचार्यले भने ।

महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ । पोखरा– २ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा– ४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ तथा पोखरा– ७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजर चलाइनेछ । अतिक्रमित संरचना हटाउने अभियान सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ ।

महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर संघलगायतले समेत भवन खाली गरेका छन् । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन् । पोखरा महानगरपालिका– १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर छ ।

यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नापजाँचपछि एकिन गरिएको खोलाघरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ सीमास्तम्भ गाडिएका थिए ।


प्रतिकृया दिनुहोस्