
५ जेठ, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले आज साँझ पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयमा शपथ लिएर फर्किएपछि शर्माले प्रधानन्यायाधीशको पदभार ग्रहण गरेका हुन्।
त्यसक्रममा उनलाई सर्वोच्चसहित उपत्यकाका, उच्च, विशेष, जिल्ला लगायत अदालतका न्यायाधीशहरुले स्वागत गरेका थिए। प्रशासनले प्रधानन्यायाधीशको पदभार ग्रहणबारे सबै अदालतलाई जानकारी गराएको थियो। तर सर्वोच्च अदालतकै निवर्तमान कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने सहभागी भइनन्।
प्रधानन्यायाधीश शर्मा सर्वोच्च पुग्दा मल्ल सर्वोच्चबाट बाहिरिसकेकी थिइन्। आफू प्रधानन्यायाधीशको रोलक्रममा भएपनि संवैधानिक परिषद्ले चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट बनेकी थिइन्।
प्रधानन्यायाधीश सिफारिसपछि उनले सार्वजनिक रुपमै असन्तुष्टि जनाएकी थिइन्। यो बिचमा मल्ललाई साथ दिएका अन्य न्यायाधीशहरू भने स्वागतमा उपस्थित भए। यसअघि शर्माभन्दा अघिल्लो वरियतामा रहेका कुमार रेग्मी र हरिप्रसाद फुयाल स्वागतमा उपस्थित भएका थिए।
रेग्मी र फुयाल भने प्रधानन्यायाधीश शर्मासँगै सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए।
यसैबीच सर्वोच्च प्रशासनले सपना प्रधान मल्लको च्याम्बर पुरानै कोठामा फर्काएको छ। यसबीचमा कामु प्रधानन्यायाधीश हुँदा प्रधानन्यायाधीश बस्ने च्याम्बरमा सारिए पनि नयाँ प्रधानन्यायाधीश आएपछि मल्लको च्याम्बर पहिलेकै कोठामा बनाइएको हो।
मल्ल कामु प्रधानन्यायाधीश भए पनि प्रधानन्यायाधीशको निवास बालुवाटार भने खाली नै थियो। अब त्यहाँ प्रधानन्यायाधीश शर्मा सर्नेछन्।













