Skip

Hamro Sanchar

शंकर पोखरेलको प्रश्न : नयाँ भनिनेहरूको संसदीय आचरण यही हाे ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बालेन शाह नेतृत्वको सरकारको नीति तथा कार्यक्रमलाई हावादारी भन्दै आलोचना गरेका छन्।

आइतबार साझ सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै पोख्रेलले विगतमा दीर्घकालीन योजनालाई हावादारी भन्नेहरू नै अहिले तिनै एजेन्डा दोहोर्याउन बाध्य भएको उल्लेख गरेका छन्।

पोखरेलले पुरानाले गरेनन्, हामी गर्छौँ भन्नेहरूको नीति तथा कार्यक्रममा विगतभन्दा खासै फरक दृष्टिकोण वा नयाँ सोच नदेखिएको बताएका छन्।

उनले नीति तथा कार्यक्रमले सरकारको आफ्नै १०० बुँदे वाचापत्रको स्प्रिटसमेत समेट्न नसकेको दाबी गरेका छन्।

महासचिव पोखरेलले प्रधानमन्त्रीको आचरणमाथि पनि गम्भीर प्रश्न उठाएका छन्।

राष्ट्रपतिबाट नीति तथा कार्यक्रमको सम्बोधन हुने समारोहमा प्रधानमन्त्रीको अनौपचारिक पोशाक र सम्बोधन नसकिँदै संसदबाट बाहिरिएको घटनाले नयाँ भनिनेहरूको संसदीय आचरण र भूमिकामाथि प्रश्न खडा गरेको उनको भनाइ छ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई पनि सचेत गराएका छन्।

जनताले ठूलो अपेक्षासहित बलियो जनादेश दिएको कुरा रास्वपाका नेताहरूले बुझ्न नसके देश पुनः द्वन्द्व र अस्थिरतामा फस्न सक्ने चेतावनी दिँदै सुरुदेखि नै गम्भीर र सचेत बन्न आग्रह गरेका छन्।


प्रतिकृया दिनुहोस्