
२४ वैशाख, काठमाडौं । सरकारी स्वामित्वमा रहेका प्रमुख वाणिज्य बैंकका अध्यक्षहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
सरकारले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि बैंकका अध्यक्षहरूले नैतिक आधारमा पद त्याग गरेका हुन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका अध्यक्षहरूले राजीनामा दिएका छन्।
राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्षसँगै सञ्चालक सदस्यहरूले समेत राजीनामा दिएका छन् भने अन्य दुई बैंकमा भने अध्यक्षले मात्र पद छाडेका छन्।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल रहेका थिए। त्यस्तै सञ्चालक समितिमा विभिन्न विज्ञ तथा पेशागत व्यक्तिहरू संलग्न थिए।
कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल थिए भने नेपाल बैंकको अध्यक्ष पदमा प्रा.डा.डिल्लीराज शर्मा रहेका थिए।
सरकारले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई हटाउने नीति अघि सारेपछि यो कदम आएको हो। यद्यपि सम्बन्धित बैंकहरू कानुनी रूपमा बाध्य नभए पनि सरकारको नीतिलाई समर्थन गर्दै पद त्याग गरिएको बताइएको छ।












