Skip

Hamro Sanchar

१०० रूपैयाँमाथिका वस्तुमा भन्सार लिने नीति तत्काल खारेज गर्नुपर्छ : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १७ गते


Advertisement

१७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १०० रुपैयाँ माथिका वस्तुमा भन्सार लिने नीति तत्काल खारेज गर्न माग गरेका छन् ।

संघीय सरकारको यस नीतिले सीमावर्ती क्षेत्रका नागरिक पीडामा रहेको भन्दै उनले १०० रुपैयाँमाथिका वस्तुमा भन्सार लगाउने नीति हटाउन माग गरेका हुन् ।

सरकारको यो आदेशले सीमा क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको उनको भनाइ छ । सरकारको नीतिले नागरिक त्रासका साथ सीमा पार गर्नुपर्ने अवस्था आएकाले यो नीति खारेज हुनुपर्ने उनको माग छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,यो नागरिकमैत्री नीति हुँदै होइन, यो एक प्रकारको हेपाहा नीति हो। यो मधेसको दैनिकीमा लागेको घाउ हो। यस नीतिले नागरिक सम्मानलाई अपमानित तुल्याएको छ। स्वयं भन्सार विभागले स्वीकार गरेको छ की यसबाट उल्लेखनीय राजस्व उठ्दैन। त्यसो भए यो दुःख आखिर किन र कसका लागि ?

सरकारको नीतिले मधेसका हरेक भान्सामा अवरोध खडा गरेको थापाको भनाइ छ । यसको मार महिला, विद्यार्थी, किसान र श्रमिक वर्गमाथि परेको उनले उल्लेख गरेका छन् ।

सीमामा सहजता ल्याउँदै नागरिकको सम्मान फर्काउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् । चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले १०० रूपैयाँ माथिका वस्तुमा भन्सार उठाउने निर्णय गरेको थियो ।

 


प्रतिकृया दिनुहोस्