Skip

Hamro Sanchar

सीआईबीलाई सर्वोच्चले भन्यो : शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १५ गते


१५ बैशाख, काठमाडौं । थुनामा राखिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ ।

शेखरका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार (वैशाख १४) सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन्।

आज सर्वोच्चमा सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो ।

गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति दिएको हो ।

गोल्छालाई सीआईबीको टोलीले बिहीबार (वैशाख १०) नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा उनको नाम समेत मुछिएको देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्