Skip

Hamro Sanchar

राष्ट्रपतिले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २७ गते


२७ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । त्यो धारामा ‘राष्ट्रपतिबाट सम्बोधन’ शीर्षकमा लेखिएको छ, ‘राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।’

आजै रातिदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।

नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ ।


प्रतिकृया दिनुहोस्