Skip

Hamro Sanchar

बुटवल-नारायणगढ सडक अवरुद्ध : हिलो र चिप्लोले दाउन्ने सडक पनि ठप्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २६ गते


नवलपरासी । वर्षाका कारण बुटवल(नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका=२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।

दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई सवारी साधान सडक ‘फसे’काले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ ।

“हिजो दिउँसोदेखि लगातार सिम-सिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भइरहेको छ, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, उनले भने, “मालवाहक सवारीसाधनलाई अहिले अरुणखोला क्षेत्रमा नै रोकिएको छ ।”

दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भए पछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल=नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।


प्रतिकृया दिनुहोस्