Skip

Hamro Sanchar

बालेनको बयान : मेरो फेसबुकमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने शब्द थिएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ११ गते


काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री सुशीला कार्कीले निर्णय गरेकी छन्। बुधबार साँझ उनले निर्णय गर्नु पहिले नै उक्त प्रतिवेदन भने बाहिरिसकेको छ।

प्रतिवेदनमा आयोगले तत्कालीन सरकार प्रमुखसहित सुरक्षा अधिकारीहरुलाई कारबाही सिफारिस गरेको छ। आयोगले प्रतिवेदन तयार गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर एवम् दुई दिनपछि प्रधानमन्त्री बन्न लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि बयान लिएको थियो।

बयानका क्रममा उनले पहिल्यै सिंहदरबार जलाइदिन्छु भनेको अभिव्यक्ति बारे पनि सोधिएको थियो। जसको जवाफमा उनले आफूले फेसबुकमार्फत विरोध स्वरुप अभिव्यक्ति दिएको र त्यसमा सिंहदरबार जलाइदिन्छु भन्ने शब्द नरहेको बताएका छन्।

‘काठमाँडौ महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछी विरोधस्वरुप मेटाफोरको रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाई दिन्छु’ शब्द प्रयोग भएको थिएन’, बालेनले आयोगमो दिएको बयानमा उल्लेख छ। यस्तै उनले २३ गतेको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन रहे पनि आन्दोलनमा समर्थन नरहेको दाबी गरेका छन्।

आन्दोलनको अघिल्लो दिन उनले आफू उमेरका कारण सहभागी हुन नमिल्ने बताउँदै जेनजीहरुलाई सडकमा उत्रन आह्वान नै गरेका थिए।

२०८० भदौ १६ गते बेलुका बालेनले सिंहदरबारमा आगो लगाइदिन्छु भनेरै लेखेका थिए। तर उनले दुई दिनपछि त्यो स्टाटस हटाएका थिए।

श्रीमतीसहित सवार रहँदा ट्राफिकले गाडी रोकेपछि बालेनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’


प्रतिकृया दिनुहोस्