Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिका र ह्यारिसनभिल सहरबीच भगिनी सहर सम्झौता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ११ गते


काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित ह्यारिसनभिल सहरबीच भगिनी सहर (फ्रेन्डशिप सिटी) सम्बन्ध स्थापना गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिकामा आयोजित एक कार्यक्रममा ह्यारिसनभिल सहरका मेयर माइक जारिङ र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दुई सहरबीच शिक्षा, सामाजिक कल्याण, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रमा आपसी सहयोग र अनुभव आदान–प्रदान गर्ने सहमति भएको छ।

सम्झौताले दुवै सहरका नागरिकबीच मित्रवत् सम्बन्ध विस्तार गर्ने, एकअर्काको संस्कृति र इतिहासप्रति सम्मान जनाउँदै आपसी समझदारी अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। विभिन्न आदान–प्रदान कार्यक्रममार्फत दीर्घकालीन सहकार्य अघि बढाइने बताइएको छ।

यद्यपि, समझदारीपत्र कानुनी रूपमा बाध्यकारी नभई आपसी सहकार्य र मित्रता विस्तारमा केन्द्रित रहेको उल्लेख गरिएको छ।

यो समझदारीपत्र हस्ताक्षरको मितिदेखि लागू हुने जनाइएको छ।


प्रतिकृया दिनुहोस्