
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाबाचोकमा रहेको गणेश हिमाल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय स्तरको ISO प्रमाणपत्र (ISO 21001) प्राप्त गरेको छ।
आज गोकर्णेश्वर नगरपालिकाको मकलबारीस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा Everest International Management Consultancy & Training Agency (EIMCTA) का प्रमुख शैलेन्द्र खरेलले विद्यालयका अध्यक्ष दिनेश नेपाल, प्रधानाध्यापक पुष्कर नेपाल तथा विद्यालयका ISO प्रतिनिधिलाई संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरे।
कागेश्वरी मनोहरामा ८० वटा (इसिडी कक्षा संचालन गर्नेसहित) संस्थागत विद्यालय छन् जसमध्ये ISO प्रमाणपत्र प्राप्त गर्ने गणेश हिमाल मावि मात्र रहेको छ।
कार्यक्रममा प्रशिक्षक समेत रहेका खरेलले ISO प्रणालीको महत्व, विद्यालय व्यवस्थापनमा यसको प्रभाव तथा गुणस्तरीय शिक्षामा हुने सकारात्मक परिवर्तनबारे प्रस्ट पारेका थिए। दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय अनुभव बोकेका खरेल अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता तथा लिड अडिटरसमेत हुन्।
विद्यालयले ISO का ४५ वटै मापदण्डहरू पूर्ण रुपमा पालना गरी यो प्रमाणपत्र प्राप्त गरेको खरेलले जानकारी दिए। उनले विद्यालयले अझ धेरै सुधारका सम्भावना बोकेको भन्दै आगामी दिनहरूमा अझ सुदृढ शिक्षण व्यवस्थापनमार्फत अगाडि बढ्न सुझाव दिए।
विद्यालय प्रशासनका अनुसार ISO प्रमाणिकरणले शिक्षण सिकाइ प्रक्रिया अझ व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउने छ। अभिभावकहरुको सहभागिताले विद्यालयको सुधार यात्राप्रति समुदायको भरोसा झल्काएको संचालक दिनेश नेपालले बताए।
कार्यक्रमले विद्यालय र अभिभावकबीच सहकार्य बलियो बनाउँदै विद्यार्थीहरूको सुरक्षित र उज्यालो भविष्य निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।
विद्यालयमा एक हजार विधार्थी अध्ययनरत छन्।
ISO सर्टिफिकेसन: गुणस्तर र विश्वस्तरीय शिक्षा
प्रधानाध्यापक पुस्कर नेपालकाअनुसार विद्यालयले शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले ISO सर्टिफिकेसन सम्बन्धन पाएको हो। यसले शिक्षाको गुणस्तरलाई विश्वभरिका मापदण्डसँग तुलना गर्न सकिने मापदण्ड दिन्छ।
तीन वर्षको मूल्याङ्कनपछि विद्यालयलाई अन्तिम प्रमाणपत्र प्रदान गरिएको हो। त्यस अवधिमा शिक्षक तालिम, पाठ्यक्रम व्यवस्थापन, शैक्षिक डकुमेन्टेसन र अध्यापन प्रणाली सबै ISO मानकअनुसार सञ्चालन गरिएको थियो।
शिक्षण पद्धति र विद्यार्थी मूल्याङ्कन
गणेश हिमाल स्कूलमा विद्यार्थीहरूको प्रगति र विकासमा विशेष ध्यान दिइन्छ। विद्यालयले होमवर्क जाँच्ने तरिका, पाठ्यक्रम व्यवस्थापन र Understanding Project Work जस्ता अभ्यासहरू अन्तर्राष्ट्रिय स्तरका मापदण्डमा आधारित राखेको छ। विद्यार्थीको बुझाइ, सहभागिता र सीपको मूल्याङ्कन चार फरक चरणमा गरिन्छ।
स्वास्थ्य र सुरक्षा सुनिश्चितता
स्कूलले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न विभिन्न उपायहरू अपनाएको छ।
विद्यालयमा डाक्टरको एक टिमसँग सम्झौता गरी नियमित स्वास्थ्य जाँच, हेल्थ क्याम्प र आपतकालीन सेवाहरू उपलब्ध गराइन्छ। प्रत्येक विद्यार्थीको स्वास्थ्य र औषधि सेवनको रेकर्ड राखिन्छ।
गुणस्तरीय व्यवस्थापन र सुधार प्रक्रिया
स्कूलले गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) लागू गरेको छ। यसले शिक्षण, प्रशासन र प्रबन्धकीय प्रक्रियामा निरन्तर सुधार र स्थायित्व ल्याउँछ। विद्यालयले विश्लेषण, शिक्षक क्रस-चेक, फिडब्याक प्रक्रिया, र अर्गनाइजेसन इम्प्रुभमेन्ट प्लान तयार पारेर त्यसको कार्यान्वयन गर्ने प्रणाली अपनाएको छ।
विद्यालयले विद्यार्थीहरूको डेली एक्टिभिटी रेकर्ड राख्ने, उपस्थिती ट्र्याक गर्ने, तथा पाठ्यक्रमसँग सम्बन्धित जानकारी नियमित अपडेट गर्ने प्रणाली पनि विकास गरेको छ। यसले शिक्षक, अभिभावक र प्रशासनबीच पारदर्शिता कायम गर्न मद्दत पुर्याउँछ।
शिक्षक र पाठ्यक्रम
विद्यालयमा मोन्टेसरी, कक्षा १ देखि १० सम्म आधारभूत शिक्षा उपलब्ध छ। शिक्षकहरू अनुभवी र समर्पित छन् र गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर तालिममा भाग लिन्छन्।
















