Skip

Hamro Sanchar

निर्वाचन आयोगको दाबी : कुनै पनि केन्द्रमा मतदान रोकिएको छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयुक्त डा .जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सञ्चालन भइरहेको जानकारी दिएकी हुन्।

मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा। तुलाधरले आम मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन्।

आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ। सबै मतदान केन्द्रहरूमा अहिलेसम्म हामीले त्यस्तो केही मतदान केन्द्रहरू रोकिएको अवस्था पाएका छैनौँ,’ उनले भनिन्।

सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उनले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रबन्ध मिलाइएको स्पष्ट पारिन्।

मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको बताउँदै उनले निर्वाचन व्यवस्थापनका हरेक कार्यहरू उत्कृष्ट तरिकाले सम्पन्न भइरहेको दाबी गरिन्।

आयुक्त तुलाधरकाअनुसार निर्वाचन आयोगले यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको छ।

सबै वर्ग र समुदायका नागरिकले सहजै मतदान गर्न सकुन् भन्ने उद्देश्यले आयोगले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिएको छ।

बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको हुनाले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत खसाल्न आयोगले सम्पूर्ण मतदाताहरूलाई आग्रह समेत गरिन् ।


प्रतिकृया दिनुहोस्