Skip

Hamro Sanchar

इजरायलद्वारा इरानका सयौँ क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरू ध्वस्त पारेको दाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २० गते


काठमाडौं । इजरायली रक्षा बलले इरानमा लगभग ३०० वटा क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरू नष्ट गरेको दाबी गरेको छ । लेबनानमा धेरै लक्ष्यहरूमा प्रहार गरेको टेलिग्राम म्यासेजिङ एपमा जारी गरिएको नयाँ अपडेटमा उल्लेख छ ।

“गत २४ घण्टामा, सयौँ लडाकु विमान र अन्य विमानहरूले इरान र लेबनानका सयौँ लक्ष्यहरूमा एकैसाथ आक्रमण गरिरहेका छन्,” इजरायली रक्षा बलले विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा गत शनिबार अपरेसन सुरु भएयता इरानमा चार हजार गोलाबारुद प्रयोग भइसकेको बताइएको छ ।

आईडीएफले अगाडि भनेको छ, “रक्षात्मक प्रयासको एक हिस्साको रूपमा, इजरायली वायुसेनाले इरानी शासनको ब्यालेस्टिक क्षेप्यास्त्र संयन्त्र र हवाई रक्षा प्रणालीहरूविरुद्ध लगातार आक्रमणका लहरहरू जारी राखेको छ ।”

इजरायली रक्षा बलले तेहरानमा गरिएको एक आक्रमणमा लेबनानका लागि इरानको कुड्स फोर्सका कमान्डर दाउद अली जादेह मारिएको जनाएको छ ।

इजरायली रक्षा बलका प्रवक्ता ब्रिगेडियर जनरल जनरल एफी डेफ्रिनले भने, “लडाकु विमानहरूले तेहरानको केन्द्रमा आक्रमण गरी कुर्दस फोर्सका वरिष्ठ अधिकारी तथा लेबनान कोरका कमान्डर दाउद अली जादेहलाई निशाना बनाएका छन् ।”

कुर्दस फोर्स इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको एक प्रमुख शाखा हो, जसले विदेशमा हुने सैन्य तथा खुफिया अपरेसनहरू सञ्चालन गर्छ । इजरायली सेनाले इरानमाथि आक्रमणको नयाँ र व्यापक शृंखला सुरु गरेको जनाएको छ ।
यसैबीच, इजरायलले इरानमा नयाँ आक्रमणहरू सुरु गरेको पनि जनाएको छ ।

“इजरायली रक्षा बलले इरानी शासनका क्षेप्यास्त्र प्रक्षेपण स्थलहरू, हवाई रक्षा प्रणालीहरू तथा अन्य अतिरिक्त पूर्वाधारहरूलाई लक्षित गर्दै व्यापक आक्रमणको लहर सुरु गरेको छ,” इजरायली रक्षा बलले टेलिग्राममा लेखेको छ ।


प्रतिकृया दिनुहोस्