Skip

Hamro Sanchar

नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १९ गते


काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उनी सरकारी कर्मचारी रहेको खुलेको छ ।

मंगलबार (फागुन १९)बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालालाई बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, सुनसरीको इनरुवा नगरपालिका–५ का कोइराला भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए । ४८ वर्षीय कोइराला नायब सुब्बा पदका कर्मचारी रहेको खुलेको उनले बताए ।

“उहाँ सरकारी कर्मचारी हुनुहुँदो रहेछ । आज बिहान फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो । त्यसपछि उपचारका लागि सिभिल अस्पताल लगिएको थियो,” एसपी भट्टराईले भने, “तर, बिहान ८ः५५ बजे चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।”

उक्त टिपरका चालक गोरखाका २६ वर्षीय विकास थापामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्