
काठमाडौं । रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।
दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ।
घाइते घाइते सातमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक ९डीएसपी० राजन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार ३ जनाको अवस्था भने सामान्य छ।
गाडीमा ११ जना सवार रहेका थिए। गाडी दुर्घटना भएपछि तीन जनाले हाम फालेको प्रहरीले जनाएको छ।
प्रतिनिधि सभा निर्वाचनको सामग्री र कर्मचारी बोकेर रामेछाप सदरमुकाम मन्थलीबाट नगरपालिका-२, देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी डाँडामा दुर्घटना भएको हो। गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजात रहेका थिए।
दुर्घटना भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सई रमेशबहादुर थापाको कमाण्डमा ११ जनाको टोली खटिएको थियो। नौ जना गोताखोर र एक जना डीएमसहितको टोलीले घाइतेको उद्धार गरेर अस्पताल पठाएको हो।
मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको हो।











